नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको छ ।
सोमबार अपरान्हसम्म भएका परीक्षणमा पुरुष २९४ जना र महिला २० जना गरी थप ३१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै सोमबार थप २१ जना डिस्चार्ज भएको र योसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।








