वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका १८ जना डिस्चार्ज भएका छन् । एकै परिवारका उनीहरु आइतबार राती डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या १०५ पुगेको छ ।
पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले जानकारी दिए । निको हुने एकै परिवारका सदस्य रहेका र उनीहरुमध्ये ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध रहेका उपाध्यायले बताए ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गर्ने क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।








