कोरोना भाइरसबाट नेपालमा पहिलो मृत्यु, धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलामा संक्रमण पुष्टि

news-details

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । धुलीखेल अस्पतालमा उपचारका लागि ल्याइएको सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको मृत्यु कोरोना भाइरसबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

श्वासप्रस्वासमा गाह्रो भएपछि शुक्रबार राती उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकी उनलाई अस्पताल ल्याउदा मृत घोषित गरिएको थियो । । त्यसलगत्तै धुलिखेल अस्पतालमै रहेको ल्यावमा र्यापिड र पीसीआर दुवै टेस्ट गर्दा कोरोना संक्रमण देखिएपछि पुनः उनको श्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएकोमा त्यहाँ पनि संक्रमण पुष्टि भएको हो ।

१० दिनअघि मात्र उनको त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालले उनीहरुलाई २५ गते डिस्चार्ज गरेको थियो ।

यसअघि आजै उनको मृत्यु कोरोनाकै कारण भएको हो या होइन अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल गएको थियो । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

मृतक महिलालाई आजै नेपाली सेनाको विशेष टोलीले पशुपतीको शवदाह गृहमा अन्त्येष्टि गरेको छ ।

यसअघि आजै मृतक महिलाको घर बाह्रबिसे नगरपालिका राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको र उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन ।

यस्तै शनिबार राती धनुषाका २० र ६५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ भने निको हुनेको संख्या ३६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *