सरकारले कोरोना संक्रमण (कोभिड–१९)को संक्रमण एकाएक बढेपछि लकडाउनलाई थप कडा बनाउने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाउदै यस अघि जारी भएका सम्पूर्ण इ–पास रद्ध गर्ने निर्णय गरेको हो ।

मंगलबार एकै दिन ५७ जना नयाँ कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयले आवतजावतमा कडाई गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाउन र यस अघि जारी भएका पास रद्ध गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक कामका लागि जानुपरेमा पास जारी गर्ने जिल्लाले जानुपर्ने जिल्लासँगको समन्वयमा मात्र पास दिन सक्ने र काठमाडौ प्रवेशको हकमा भने अनिवार्य गृह मन्त्रालयको स्वीकृति लिएर मात्र पास जारी गर्न सकिने गृह मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि सरकारले गत शुक्रबारबाट विभिन्न उद्योगहरु संचालन गर्नदिने अनुमति दिएपछि आवतजावत गर्नेहरु अत्याधिक बढेको भन्दै आवतजावतमा कडाई गरिएको मन्त्रालयले जनाएको छ ।

यता लकडाउनमा सवारीसाधन र यात्रुहरुको चाप बढेको भन्दै प्रंधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई बोलाएर असन्तुष्टि पोखेपछि समितिले पनि लकडाउन कडाईका लागि छलफल गरिरहेको बताइएको छ ।

लकडाउनमा कडाई : एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक, जारी भएका सबै इ–पास रद्ध