नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना पत्रकार रहेको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा पर्साका ३९ जना, कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
यसैबीच पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार रहेको नारायणी अस्पतालले पुष्टि गरेको छ । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने निको हुनेको संख्या ३३ रहेको छ ।









