नेपालमा सोमबार थप १३ जना कोरोना संक्रमित भेटिएका छन । सोमबार साझ आएको परीक्षणको रिपोर्ट अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि आजै विहान कपिलबस्तुका १० जना र सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै मात्र कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र वुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको तथा रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍ ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष तथा बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ भने निको हुनेको संख्या ३३ पुगेको छ ।

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, सोमबार मात्र भेटिए २४ नयाँ संक्रमित