आइतबारदेखि काठमाडौं उपत्यकामा ‘टाइम कार्ड’ अनुसार मात्र सवारीसाधन चलाउन पाइने भएको छ । लकडाउनका कारण अत्यावश्यक बाहेकका सवारीसाधन चल्न नदिइएकोमा गत शुक्रबारबाट सरकारले विभिन्न उद्योगहरु संचालन अनुमति दिएपछि सवारी चापलाई ध्यानमा राखी ‘टाइम कार्ड’ लागू गराइएको जानकारी दिएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी र उद्योग वाणिज्यका पदाधिकारीको छलफलपछि सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय अनुसार ‘टाइम कार्ड’ अनुसार मात्र सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
महाशाखा प्रमुख ढकालका अनुसार अब आइतबारबाट सरकारी कार्यालयका कर्मचारीहरुको सवारीसाधन बिहान ९:३० देखि १०:३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म, बैंक तथा वित्तिय संस्थाका सवारीलाई बिहान ९ देखि १० बजेसम्म र बेलुका ३:३० देखि ५ बजेसम्म, खाद्यान्नका सामाग्री बोक्ने साधन बिहान ४ बजेदेखी १० बजेसम्म, निर्माण सामाग्री बोक्ने मालवाहक ट्रक र ट्रीप्परलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइनेछ।
औषधि, खानेपानी तथा अत्यावश्यक सवारी साधन भने दिनभर चल्न पाउनेछन । तोकेको समय भन्दा ढिलो वा चाडो सवारी चलाएको खण्डमा बिहान नियन्त्रण लिए दिनभर र बेलुका नियन्त्रण लिए बिहानसम्म होल्ड गरिने महाशाखा प्रमुख ढकालले बताए ।








