कोरोना संक्रमणको परीक्षणका लागि स्वीटजरल्याण्डले सहयोग स्वरुप उपलब्ध गराएको ३० हजार थान पीसीआर टेस्ट किट र स्वास्थ्य सामाग्री काठमाडौ आइपुगेको छ ।
स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले सहयोग स्वरुप उपलब्ध गराएको उक्त सामाग्री लिएर नेपाल वायु सेवा निगमको वाइडबडी विमान विहिबार काठमाडौ अवतरण गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएको उक्त सामाग्री स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन ।
स्वीजरल्याण्ड सरकारले यसअघि ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।
पीसीआर किटको अभाव खडकदै जादा परीक्षणको दायरा बढाउन कठिन रहेको र देशका केहि भुभागमा परीक्षण नै रोकिएको भनिइरहदा स्वीटजरल्याण्डबाट आएका यी सामाग्रीले थप सहयोग पुरयाउने अपेक्षा गर्न सकिन्छ ।
यस अघि सरकारले पीसीआर किटसहितका स्वास्थ्य सामाग्री खरिदका लागि नेपाली सेनालाई जिम्मा दिए पनि ४० दिन बित्दासमेत उक्त सामाग्री सेनाले ल्याउन सकेको छैन ।









