कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नेपालगन्जमा बैशाख २५ गतेसम्म कर्फ्यू लगाउने निर्णय भएको छ ।
सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले बैशाख २३ गतेदेखि देखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।
नेपालगंजमा आइतबार मात्र १५ जनामा र गत शुक्रबार १ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरु खोज्ने क्रममा आइतबार थ्प १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो ।
संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरीएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यसैबीच बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोना परीक्षणका आवश्यक सामाग्रीसहितको प्राविधिक टोली पठाउन माग गरेका छन् ।
सांसद पूर्णाकुमारी सुवेदी, बाँके९२ का सांसद मोहम्मद इस्तियाक राई, बाँके ३ का सांसद नन्दलाल रोकाया, अर्का सांसद सर्वतआरा खानले स्वास्थ्यमन्त्री ढकाललाई मन्त्रालयमै पुगेर भेट गरी माग राखेका हुन् ।
भेटमा स्वास्थ्यमन्त्री ढकालले दुई सय ५० थान किट पठाउन लगाएको र अन्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका थिए ।
कर्णाली प्रदेशका सबै नाका सिल
यस्तै सोमबार मध्यरातीबाट लागू हुनेगरी कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।
प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले लकडाउनलाई थप कडाईका साथ लागू गराउन यो निर्णय गरेको जनाएको छ ।
कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्रवात्तै बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको जनाइएको छ ।








