कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि उपयोगी हुने फेसशिल्ड मास्कको उत्पादन नेपालमै थालिएको छ । सामाजिक संस्था ई–नेवल नेपालले थ्रीडी प्रिन्ट मार्फत उत्पादन थालेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को बिश्वब्यापी महामारीमा उपचारमा संलग्न जोकोहीलाई उपयोगी हुने सुरक्षा सामाग्री उपलब्ध गराउने उद्देश्यले ई–नेवल नेपालले दाँवली मिलन क्लब र नोबेल कलेजको सयुक्त सहकार्यमा संस्थाको आफ्नै ल्यावमा ‘फेसशिल्ड मास्क’को उत्पादन थालेको जनाएको छ ।
आवश्यक परेको स्थानमा बितरण गर्ने गरि उत्पादन थालिएको उक्त ‘फेसशिल्ड मास्क’को स्याम्पल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रो. डा. भगवान कोईरालालाई सोमबार प्रदान गरिएको ई–नेवल नेपालका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

यस विषम परिस्थितीमा सबैले आ–आफ्नो ठाँउबाट सहायता पु¥याउने उद्देश्यले फेसशिल्ड मास्कको उत्पादन सुरु गरिएको भन्दै ई–नेवल नेपालका अध्यक्ष कोइरालाले विभिन्न अस्पतालमा अग्रस्थानमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षा गर्ने आशा लिएको बताए ।
इ–नेबल नेपालले हात नभएका बच्चाहरुलाई थ्रीडी प्रिण्टको मुभेवल हात निशुल्क वितरण गर्दै आएको छ ।








