सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले उजुरी दिएका छन् ।

सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै तीनै जनाविरुद्ध बिहीबार आयोगको कार्यालय पुगेर उजुरी दिएका हुन् । उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भएनभएको विषयमा अनुसन्धान गरिने बताएका छन् ।

अपराध भएनभएको, अपहरण भएनभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरीकर्ताको मानवअधिकार भएको छ कि छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने जनाए । उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उल्लङ्घन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उनको भनाई छ ।

शक्तिको आडमा आफ्नो ज्यान नै लिनसक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीलाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याएका थिए । यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए ।