महाकाली पारी भारतीय भूमिमा लामो समयदेखि नेपाल प्रवेश गर्न नपाएर अलपत्र परेका नेपालीलाई बिहिबारबाट स्वदेश फर्काउन शुरु भएको छ ।

लकडाउन तथा सीमा नाका बन्दका कारण एक महिना भन्दा बढी समयदेखि भारतीय भूमिमै रोकिएका उनीहरु क्वारेन्टाइन अवधि सकिदा समेत स्वदेश फर्कन नपाएपछि अलपत्र परेका थिए ।

बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति भएपछि बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उनीहरुको उद्धार शुरु भएको हो । आज विहान मात्र यसरी अलपत्र परेका करिब १ हजार जनालाई नेपाल भित्र्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

भारतको विभिन्न स्थानबाट मजदुरी गरेर घर फर्किदै गरेका दार्चुलासहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो भने बैतडि, कैलाली, कञ्चनपुरको सीमा क्षेत्रमा पनि सयौका संख्याका नेपालीहरु सीमापारी क्वारेन्टाइनमा राखिएको थियो ।

तर, क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धार हुन नसकेपछि सबैतिरबाट उनीहरुको उद्धारका लागि चर्को आवाज उठेको थियो । उता कतिपय नेपाली क्वारेन्टाइनबाट भागेर पौडी खेलेर, तुइनमार्फत तथा विभिन्न माध्यमबाट अवैत्ररुपमा नेपाल प्रवेश गर्न थालेपछि यसबाट झन खतरा बढेको थियो । अब उनीहरु सबैलाई नेपाल भित्र्याउन लागिएको हो ।

यसरी उद्धार गरिएकाहरुलाई ज्वरो मापन लगायत प्रार्थमिक स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने तयारी गरिएको र सीमाबाट फर्किएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।