बुधबार अपरान्ह वीरगञ्ज महानगरपालिकाका थप एक जनामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यसअघि आजै बाराका दुई र पर्साका एक जनामा पनि कोरोना संक्रमण भेटिएको थियो ।
महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत आइतबार वीरगञ्ज ३ कै सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।
बारा र पर्सामा ३ जनामा कोरोना संक्रमण
यसअघि बुधबार नै नेपालमा थप तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण रहेको पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएकाहरु भएको बुझिएको छ ।
यसअघि कोरोना संक्रमण भेटिएका जमातीहरुको सम्पर्कमा आएकाहरुको खोजी गरेर परीक्षण गर्ने क्रममा जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका, सिम्रौनगढका ३१ वर्षका र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका यी ३ पुरुषमा संक्रमण भएको भेटिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।








