बुधबार नेपालमा थप तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण रहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएकाहरु भएको बुझिएको छ ।
यसअघि कोरोना संक्रमण भेटिएका जमातीहरुको सम्पर्कमा आएकाहरुको खोजी गरेर परीक्षण गर्ने क्रममा जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका, सिम्रौनगढका ३१ वर्षका र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका यी ३ पुरुषमा संक्रमण भएको भेटिएको हो ।
संक्रमित तीनै जनालाई वीरगंजस्थित नारायणी अस्पताल लैजाने तयारी भएको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने निको भएर फर्कनेको संख्या १६ पुगेको छ ।








