कोभिड-१९ कोरोना भाइरसको प्रभाव नेपालमा बढ्दै गएको छ। संक्रमणका हिसाबले यति बेला उदयपुर जिल्ला ज्यादा जोखिममा छ । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा भाइरस संक्रमितको संख्या हालसम्म कै धेरै छ।
यहि दृष्टान्तलाई ख्याल गर्दै बिभिन्न अस्पताल र स्थानीय निकायमा सहयोग गर्दै आएको ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुर र ‘आनी छोयिंग डोल्मा फ़ाउण्डेशन’ काठमाडौँले त्रियुगा नगरपालिकाको लागि आज ४० थान पीपीई किट सेट उपलब्ध गराएको छ।
दुवै संस्थाद्वारा आज काठमाडौँमा एक कार्यक्रम गरि उदयपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा नारायण खड्काको रोहबरमा त्रियुगा नगरपालिकाका प्रतिनिधिलाइ हस्तान्तरण गरेको छ।

प्रारम्भ संस्थाका बरिष्ठ सल्लाहकार एवं कलाकार हरिवंश आचार्य, आनी छोयिंग डोल्मा फ़ाउण्डेशनकी अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिना तथा एनआरएन अभियन्ता अनुज थापा लगायतले पीपीई हस्तान्तरण गरेका हुन् ।
लकडाउन र महामारीको प्रभावले सिर्जित प्रतिकुल अवस्थामा उपलब्ध गराइएका सामग्रीको दुरुपयोग नगरी नगर मार्फत स्थानीय स्वास्थ्य संस्थामै पुर्याउन कलाकार हरिबंश आचार्यले आग्रह गर्नु भयो ।

सहयोग सामग्री ग्रहण गर्दै प्रतिनिधि सभा सदस्य डा नारायण खड्काले स्वास्थ्य जस्तो संबेदनशील बिसयमा कुनै लापरवाही नगरी सम्पूर्ण सामग्री सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मी समक्ष बुझाईने बताउनु भयो । ४० थान पीपीई किट सेटमा पीपीइ ड्रेस, एन ९५ मास्क, गमबुट, फेसशिल्ड, ह्यान्ड सानीटाइज़र सामग्री छन् ।
एनआरएन अभियन्ता अनुज थापा र चण्डिका पोख्रेलको संयोजनमा उपलब्ध गराइएको उक्त सामग्री त्रियुगा नगरपालिकाका लेखापाल बाबुराजा प्रजापतिलाई बुझाइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए ।








