कोरोना संक्रमणको पुष्टिपछि वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित व्यक्ति कोरोनामुक्त भएपछि घर पठाउने तयारी गरिएको छ ।
कोरोनामुक्त हुनेमा ३ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई आज आइतबार नै डिस्चार्ज गरेर घर पठाउने तयारी थालिएको छ ।
गत चैत ३० गते वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो भने अर्का एक नेपाली नागरिक रौतहटका हुन ।
नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित भेटिएकोमा योसँगै कोरोनाबाट निको हुनेको संख्या पनि १६ पुगेको छ ।








