कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई निरन्तरता दिदै क्षेत्रगतरुपमा भने खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएको छ ।
समितिको शनिबार बसेको बैठकले जारी लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सफल रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्ने निश्कर्ष निकालेको छ, तर अबको लकडाउन कुन मोडलमा गर्ने भन्ने विषयमा भने समितिमा बृहत छलफल भएको बताइएको छ ।
बैठकमा विगतको मोडलमै लकडाउन जारी राख्ने या प्रभावित क्षेत्रका आधारमा कडाई या खुकुलो बनाउने भन्ने विभिन्न मोडलमा छलफल भएको थियो । बैठकमा छलफल भएका सबै मोडलका प्रस्तावहरु सरकारले लकडाउनको मोडालिटी तयार पार्न गठन गरेको कार्यदलमा पठाइएको समितिका एक सदस्यले बताए ।
अब ति प्रस्ताव अध्ययन गरेर मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउनको मोडालिटी बनाउने छ र आइतबार बस्ने मन्त्रीपरिषद बैठकले लकडाउनको समयावधी तथा मोडलबारे टुंगो लगाउने छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयावधी यही वैशाख १५ गते सकिदै छ ।
यस्तै समितिको आजै बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए ।








