बुधबार नेपालमा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उदयपुरमा ३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएका हुन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

बुधबार भेटिएका कोरोना संक्रमित उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेका जमातीहरु मध्येकै सदस्य रहेका छन । त्यहा रहेका १६ जनामध्ये १२ जनामा गत बैशाख ५ गते र १ जनामा त्यसको भोलीपल्टै कोरोना संक्रमण पुष्टि भएको थियो । बाकी रहेका ३ सदस्यहरुलाई टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएकोमा आज बुधबार सम्पन्न परीक्षणमा उनीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

मस्जिदमा रहेका जमातिहरुलाई कोरोना संक्रमण भेटिएपछि त्यस आसपासका बासिन्दाहरुमा पनि कोरोना संक्रमण परीक्षण गरिएकोमा मंगलबार मात्र त्यहाँ ११ जना स्थानीयमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो समय उदयपुरको यो क्षेत्र हटस्पट बन्न पुगेको छ । यस क्षेत्रमा मात्र हालसम्म २७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यसैबीच बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै निको भएर फर्किनेको संख्या भने ७ पुगेको छ ।