कोरोना भाइरस (कोभिड १९) बाट अर्थतन्त्रमा परेको प्रभाव र सरकारले लिनुपर्ने अर्थनीतिबारे सुझाव दिन कांग्रेस नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको संयोजकत्वमा विज्ञहरु सम्मिलित अध्ययन समिति गठन भएको छ ।
सोमबार गठन गरिएको समितिले लकडाउनका बेला राहत वितरण, सरकारले आर्थिक प्रवद्र्धनको प्याकेजको घोषणा, कोरोनाबाट प्रभावित क्षेत्रको अध्ययनका साथै सरकारले लिनुपर्ने आर्थिक नीतिबारेमा सुझाव दिने बताइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गठन गरेको समितिमा संयोजक जोशीसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, डा जगदीश चन्द्र पोख्रेल, प्रा डा गोविन्द राज पोख्रेल, डा स्वर्णिम वाग्ले सदस्य छन् ।
त्यस्तै आयोगका पूर्वसदस्य प्रा डा पुष्कर बज्राचार्य, डा अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालयका प्रा डा विजया श्रेष्ठ, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका डा दधि अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र उपप्राध्यापक वसन्ती आचार्य समितिको सदस्यमा छन् ।
समितिले कोरोना संक्रमणको कारणले सबैभन्दा बढि असर परेका भौगोलक क्षेत्र तथा सबैभन्दा बढि पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि सुझाव पेश गर्ने संयोजक जोशीले बताए । जोशीका अनुसार बैसाख १ गतेदेखि समितिले काम सुरु गरेको र ३ हप्ता भित्र अध्ययन समाप्त गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
समितिले आवश्यक सल्लाह र सुझाव प्रदान दिन आमनगारिकलाई पनि आग्रह गरेको छ । विश्वव्यापी रुपमा कोरोना संक्रमित तथा यसबाट मृत्यू हुनेको संख्या लगातार बढि राख्दा नेपालमा संक्रमितको संख्या कम र स्थिर हुनु संतोषको विषय भएको पूर्वमन्त्री जोशीले बताए । ‘तर संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दीको आर्थिक र सामाजिक प्रभाव भने उच्च संख्यामा संक्रमित भएका देशको जत्तिकै नेपालमा पनि परेको छ,’ उनले भने, ‘विगत तीन हप्ता देखिको लकडाउनले आर्थिक गतिविधि लगभग शून्य छ । त्यस भन्दा अघिदेखि बन्द गरिएका अन्तर्राष्ट्रिय उडान र अन्य निवारक क्रियाकलापले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका छन् ।’
उनले कोरोनाको कारणले गरिब र दैनिक ज्यालादारीमा जीवनयापन गर्ने व्यक्तिहरु प्रभावित भएकाले तत्काल उनीहरुका लागि राहत आवश्यक रहेको बताए । त्यस्तै कोरोनाबाट पर्यटन, बैदेशिक रोजगार र उद्योग क्षेत्र प्रभावित भएको समिति संयोजक जोशीले बताए । ‘पर्यटन आवागमनमा सुचारु अहिले मात्र होइन निकट भविष्यमा पनि हुने देखिदैन । उद्योग धन्दा बन्द छ । तर यी दुवै क्षेत्रको ठूलो स्थिर लागत छ,’ उनले भने, ‘यदि यो स्थिर लागतलाई व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाको कारणले धेरै होटेल, रिसोर्ट, रेस्टुरेन्ट, र उद्योग बन्द हुनेछन् ।’








