बुधबार नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित थप १ जना नेपाली भेटिएका छन् । चैत्र ६ गते एयर अरेबियाको उडानबाट नेपाल आएका धादिङका १ नेपाली युवालाई कोरोना संक्रमण भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पुष्टि गरेका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । (यसअघि स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलनमा कतारबाट आएका युवा भनेकोमा पछि मन्त्रालयले एयर अरेबियाबाट आएको भनेर सच्चाएको)

चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका ती युवा नेपाल आए लगत्तै होटलमा बसेको र सोही अवस्थामा ज्वरो आएपछि मंगलबार टेकु अस्पताल पुगेका थिए ।अस्पतालले नमूना परीक्षण गर्न पठाएकोमा मंगलबार राति १२ बजे नतिजा पोजेटिभ आएको जनाइएको छ ।

ती युवा बसेको होटल र उनीसँग सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने काम सुरु भएको र उनीहरुको पहिचानपछि क्वारेन्टाइनमा राखिने र परीक्षण गरिने स्वास्थ्यमन्त्री ढकालले बताएका छन ।

यसअघि चैत्र ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । हाल उनको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भैरहेको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।