कोरोनाविरुद्ध लड्न सरकारका थप निर्णय, नियम नमान्नेलाई कारवाही गरिने

प्रभावकारी समाचार प्रवाह गर्न सञ्चारमन्त्री खतिवडाको निर्देशन
news-details

कोभिड १९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले संयुक्त प्रयासबाट मात्रै कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बसेको बैठकले बिरामी भएर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र जोखिम नबढाउने काम गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । त्यस्तो कार्य सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय र अन्य तत्सरोकारवाला निकायहरु मिलेर गर्नेछन् ।

सरकारले शुरु गरेका कतिपय निर्देशनात्मक कुराहरुलाई कार्यान्वयनमा लैजाँदा त्यसको प्रभावकारिता हेर्नुपर्ने अवस्था आएको ठहर गर्दै समितिले उपचार गर्न आएका व्यक्तिलाई क्वारेन्टाइनमा पठाउने, आइसोलेशनमा राख्ने, बिरामीलाई जाँच गर्न अस्पताल पठाउँदा अनुशासन पालना नगर्ने विषयलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने निर्णय भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा भएको सम्बोधनको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र त्यसको अनुगमन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो । क्वारेन्टाइनमा बसे नबसेको विषयको अनुगमनको नेतृत्व गृह र स्वास्थ्यमन्त्रीले गर्दै जोखिमपूर्ण अवस्थामा रहेका बिरामीलाई उच्च सतर्कताका साथ अघि बढाउन सुरक्षा परिचालन गर्नेछन् । क्वारेन्टाइनका लागि विभिन्न क्षेत्रबाट उपलब्ध गराउने भनिएका भवनलाई स्थानीय तहबाट सूचीकृत गराउन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । सरकारले त्यस्ता क्वारेन्टाइन कार्यालयहरु एकद्वार प्रणालीका माध्यमबाट सञ्चालन गर्न खोजिएको जानकारी दिइयो ।

कोरोनासँग सम्बन्धित पूर्वसूचना र सतर्कता अपनाउनुपर्ने विषय, तयारीको जानकारी र सबै नागरिकले अनुशासनमा बस्नुपर्ने कुरालाई व्यवस्थित गर्न सार्वजनिक, निजी र सबै क्षेत्रका सञ्चारमाध्यमलाई परिचालन र सहकार्य गर्ने निर्णय भएको सञ्चारमन्त्री खतिवडाले जानकारी दिए ।

स्वास्थ्य सामग्रीको आपूर्तिमा देखिएका समस्याहरुलाई समाधान गर्न मुलुकभित्र खरिद हुने वस्तुहरुलाई अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने, स्वास्थ्य मन्त्रालयले सामान खरिद गर्ने र मुलुकमा उपलब्ध नहुने वस्तुको हकमा भने विदेशी सहायताका लागि अर्थ र परराष्ट्र मन्त्रालयको पहलमा अन्तर्राष्ट्रिय बजारबाट किनेर ल्याउन राजदूतावासमार्फत खरिद प्रक्रिया शीघ्र अघि बढाउने निर्णय भएको छ।

आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आपूर्तिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन भएको छ भने यी सबै विषयको कार्यान्वयन गर्न उच्च तहको राजनीति र सामाजिक समन्वय तथा सहकार्य गर्न कृषिमन्त्रीको नेतृत्वमा बेग्लै समिति गठन गरिएको छ। कोरोनासम्बन्धी सरकारले गरेका निर्णयको कार्यान्वयन भएरनभएको निरन्तर अनुगमन गरी प्रभावकारिता ल्याउन उपप्रधानमन्त्रीको नेतृत्वको समितिले काम गर्नेछ।

प्रभावकारी समाचार प्रवाह गर्न सञ्चारमन्त्री खतिवडाको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन ।

सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आइतबार भएको छलफलमा मन्त्री डा खतिवडाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी समाचार व्यवस्थित र प्रभावकारीरुपमा सम्प्रेषित भएमा जनताले सही सूचना पाउने र कुनै त्रासको वातावरण नहुने बताए ।

विशेष परिस्थितिमा छिनछिनमा निर्णय र ताजा सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले आफ्ना उपकरण र साधनलाई तन्दुरुस्त राखी जनशक्तिलाई सक्रियताका साथ परिचालन गरी जनतालाई सूचना प्रवाहमा कुनै कमी हुन नदिन उनले निर्देशन दिए ।

उनले ती निकायको कामसँग सम्बन्धित कुनै निर्णय गर्नुपर्ने भएमा आफूले उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लाने अवगत गराए । सरकारका प्रवक्ता डा खतिवडाले भन्नुभयो, “सामाजिक सञ्जालको दुरुपयोग गरी नभएको समस्यालाई देखाएर वातावरण त्रसित तुल्याउन खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने काम भइरहेको छ । हाम्रा सार्वजनिक सञ्चारमाध्यम र सबै सञ्चारमाध्यमले समयमा सही सूचना दिएमा अफवाह फैलाउने निरुत्साहित हुनेछन् ।”

छलफलमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख, सञ्चार सेवा प्रदायक संस्था र सञ्चार क्षेत्रको नियमनकारी निकायका प्रमुखले हाल कोभिड–१९ रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारी निर्णय र त्यसको कार्यान्वयनमा आफ्ना संस्थाबाट भइरहेका पहलबारे जानकारी दिएका थिए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *