अत्यावश्यक सेवा बाहेक दूतावासमा नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अपिल गरेको छ । दूतावासले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेक कागजात नविकरणका लागि हुलाकमार्फत कागजात पठाउन नेपाली समूदायलाई आग्रह गरेको छ ।
कोरोना संक्रमण रोक्न अस्ट्रेलियन सरकारले विभिन्न कदमहरु चालिरहेकोमा क्यानबेरास्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन अपिल गरेको हो ।
दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत कागजात पठाएर यी सेवा लिन आग्रह गरेको हो ।
सेवाग्राही स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत कामका लागि दूतावास जानैपर्नेहरु पनि आफु एक्लै आउन दूतावासले आग्रह गरेको छ ।
अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले नै दूतावासलाई जानकारी गराउन र त्यस्ता व्यत्तिले बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्ने दूतावासले जनाएको छ । त्यस्तै अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न, नेपालबाट आएपछि अनिवार्य १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न र कुनै स्वास्थ्य समस्या आए स्थानिय स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि दूतावासले नेपालीलाई आग्रह गरेको छ ।
हेर्नुहोस् दूतावासको सूचना









