विश्वभर महामारीकोरुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) सार्क मुलुकमा पनि फैलन थालेपछि यसको नियन्त्रणका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ भिडियो कन्फरेन्स हुने भएको छ ।

आइतबार साँझ सवा ५ बजे तय गरिएको सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीचको भिडियो कन्फरेन्समा कोरोना नियन्त्रणका लागि कसरी संयुक्त रूपमा लाग्ने र कस्तो रणनीति बनाउने भन्नेबारे छलफल हुने जनाइएको छ । कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित ‘एक्सन रुम’ बाट आफ्नो धारणा राख्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुने भएको हो । भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण पछिल्लो समय निष्क्रिय भएको सार्क संगठन कोरोना नियन्त्रणका लागि भने एक ठाउमा उभिएको छ ।

कोरोनाको संक्रमण सार्क राष्ट्रहरूमा फैलन थालेपछि क्षेत्रीय संगठनमार्फत त्यसविरुद्ध संयुक्त रूपमा एकजुट भएर लडन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त भिडियो कन्फरेन्सको प्रस्ताव गरेका थिए । मोदीको प्रस्तावलाई सार्क संगठनका ८ वटै राष्ट्रले स्वीकार गरेपछि आज उक्त भिडियो कन्फरेन्स हुन लागेको हो ।