शिक्षाको क्षेत्रमा काम गरिरहेको सम नेपालले ‘जिरो प्रोजेक्ट अवार्ड’ प्राप्त गरेको छ । अष्ट्रियाको भियनामा अवस्थित संयूक्त राष्ट्र संघको कार्यालयमा अयोजित कार्यक्रममा समावेशी शिक्षामा गरेको नविनतम अभ्यासका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

संयूक्त राष्ट्र संघको कार्यालयमा जिरो प्रोजेक्ट कन्फेरेन्स २०२० मा सम नेपालका अध्यक्ष सुरेश काफ्लेले अवार्ड ग्रहण गरेका छन् । समावेशी शिक्षाको विधामा ५६ राष्ट्रका ७५ वटा सृजनात्मक अभ्यासहरु र ११ वटा सृजनात्मक नीतिहरु मनोनयन गरिएका प्रस्ताबहरु मध्येबाट विस्तृत शोध, विश्लेषण तथा प्रतिवेदनका आधारमा सम नेपाल छनौटमा परेको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सृजनात्मक समावेशी शिक्षा नीति “नेपाल समावेशी शिक्षा नीति २०१६” का लागि यो पुरस्कार प्रदान गरिएको छ ।

सम नेपालले विगत तीन वर्षदेखि विद्यालय शिक्षाबाट बन्चित भएका बालबालिकाहरु, विशेष गरि अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने एवं समावेशी शिक्षाको लागि सहज वातावरण बनाउने तथा यस्को प्रवर्धन गर्ने कार्यमा गर्दै आएको छ ।

सम नेपालले अभिभावक, विद्यालय, समुदायमा आधारित संघ संस्थाहरु र सरकारी निकायहरुसित सहकार्य गर्दैे तालिम तथा बालबालिकाहरुलाई पठन पाठन र पुनस्र्थापनमा आवश्यक सहयोगी सामाग्रीहरु प्रदान गर्दै आएको जनाइएको छ ।

सम नेपालले समावेशी शिक्षालाई मूल आधार बनाएर खुडकिलो कार्यक्रम मार्फत बांके, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक जिल्लाहरुमा सकृय भएर कार्य गरि रहेको छ ।