आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा तय गरिएको छ ।

नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडकमा आन्दोलन गरेका थिए ।

त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइएको हो ।

त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा यो दिवस मनाउन थालिएको हो । पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो । त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए ।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ ।

महिला दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवालगायतले विज्ञप्ती निकाल्दै महिला दिवशको शुभकामना दिएका छन ।