अनअराइभल भिसा स्थगित गर्ने सरकारको निर्णय

news-details

सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई अनअराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट अनअराइभल भिसा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने छ।

विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो। सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुटारमा छलफल डाकेका थिए। उक्त छलफलले कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

प्रधानमन्त्री ओलीले कोरोनासम्बन्धी आवश्यक निर्णय लिन उक्त समितिलाई निर्देशन दिएका छन्। समितिले नेपाल आउने र यहाँबाट विदेश जाने सबै यात्रुको ज्वरो जाँच गर्ने निर्णय गरेको छ।

त्यसैगरी सरकारले नेपाल पर्यटन बर्ष २०२० स्थगित गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *