आजबाट देशैभर मौसम सुधार हुने अनुमान

news-details

पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्‌ । ‘आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन’, उनले भनिन्‌ ।

बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने बताइएको छ । राति देशको मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्न पश्चात देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू-भागलगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *