विमानस्थलको अध्यागमनमा आफ्नै सफ्‍टवेयर ‘नेपाली पोर्ट’को शुभारम्भ

news-details

देवबहादुर कुँवर /नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपाली पोर्ट’ सूचना प्रणाली शुभारम्भ गरिएको छ । यसबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स ‘नेपाली पोर्ट’ सूचना तथा सुरक्षा प्रणाली (सफ्टवेयर) सोमबार शुभारम्भ गरेका हुन ।

यो सफलताले आधुनिक नेपाल निर्माण कार्यसँगै मुलुकलाई प्रविधिको नयाँ युगमा परिवर्तन गरेको भन्दै प्रधानमन्त्री ओलीले देशीय सीप, स्रोत, लगानी र दक्षताबाट निर्माण गरिएको अत्याधुनिक अध्यागमन सुरक्षा प्रणाली सञ्चालनबाट आफू खुसी भएको स्पष्ट पारे ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको मुख्य प्रवेशद्वार भएकाले यस स्थानबाट आगमन र प्रस्थान गर्ने स्वदेशी तथा विदेशी नागरिकको सहजता, सुरक्षा र छिटोछरितो सुविधाका लागि अध्यागमन सूचना प्रणाली बहुपयोगी हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री रामबहादुर थापाले अत्याधुनिक सूचना प्रविधिको विकाससँगै मुलुकको शान्तिसुरक्षा सुदृढ र प्रभावकारी तुल्याउन तथा अध्यागमन र सीमा सुरक्षा बलियो तुल्याउन नेपाली पोर्ट प्रविधि स्थापना गरिएको स्पष्ट पारे ।

कार्यक्रममा अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले एक वर्षको निरन्तर प्रयासपछि स्वदेशी जनशक्ति र स्रोतसाधन प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बायोमेट्रिक्स अध्यागमन सूचना प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार यो प्रविधि एयर, ल्यान्ड र रिभर तीनवटै नाकामा जडान गर्न सकिने छ । बायोमेट्रिक्स अध्यागमन सूचना प्रणालीमा आँखाको रेटिना, फिङ्गर प्रिन्ट र फोटो रेकर्ड राख्ने व्यवस्था गरिएको छ । त्यस्तै नक्कली कागजपत्र छुट्याउने फर्जी डिटेक्टिभ ल्याबको समेत व्यवस्था गरिएको छ ।

त्यस्तै विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयबाट नेपाल बाहिरिने र प्रवेश गर्ने नागरिकको पहिचान खुल्ने विवरण सोमबारबाट सूचना प्रणालीमा रेकर्ड बस्न थालेको छ । यसबाट हुलिया तथा कागजपत्र परिवर्तन गरी आवतजावत गर्ने वा इन्टरपोल प्रहरीले रेडकर्नर नोटिस जारी गरेका व्यक्तिलाई पक्राउ गर्न सजिलो हुने छ ।

नेपाल भ्रमणमा आउने प्रत्येक विदेशी नागरिकका गतिविधिलाई मोबाइल एप्लिकेसनबाट नै अनुगमन गर्न सकिने छ । अराइभल भिसा लिनेका लागि अनलाइन भिसा सेवा विस्तार गरिएको छ । अध्यागमन पास गराउन घण्टाँै लाइन बस्ने झन्झट हटेको छ भने अध्यागमन पास नगरी जानेका लागि स्वचालित ‘लक’ सुरक्षा प्रणाली जडान गरिएको छ ।

नेपाल प्रहरी तथा इन्टरपोल प्रहरीले शङ्काको घेरामा राखेका वा पक्राउका लागि नोटिस जारी भएका तथा विगतमा अपराधका घटनामा संलग्न भई फरार हुन लागेका व्यक्तिको पहिचान गर्न अध्यागमन सूचना प्रणाली सहयोगी हुने छ । यसका लागि भिसा आवेदन प्रणालीमा परिवर्तन गरिएको छ । नेपालमै बसेर शङ्कास्पद गतिविधि सञ्चालन गर्ने विदेशीलाई नियन्त्रण लिन सहयोग पुग्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *