मकवानपुरको दामन सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भारतको केरलाबाट १५ जनाको समूहमा दामान पालुङ घुम्न आएका उनीहरुमध्ये अचेत भेटिएका ८ जना एउटै कोठामा सुतेका थिए । झ्यालढोका थुनेर ग्याँस हिटर बालेर सुतेका उनीहरुको निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।

मृत्यु हुनेको सनाखत भइसकेको छैन भने अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ ।