आज शुक्रबार पनि विहानैबाट देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात सुरु भएको छ । विहिबारबाट सुरु भएको खराव मौसम शनिबार बेलुकासम्म कायम रहने र यस अवधिमा मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल प्रवेश गरेको पश्चिमी वायुका कारण वर्षा र हिमपात सुरु भएको महाशाखाले जनाएको छ । प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा हिमपातको विशेष असर परेको छ भने काठमाडौ उपत्यकामा परिरहेको हल्का वर्षाले चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
यसपटकको पश्चिमी वायुको असर झन्डै एक हप्ता कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन मौसम खराब रहने र त्यसपश्चात् एकाध दिन मौसम खुलेजस्तो भए पनि फेरि पश्चिमी वायुको प्रभावले थप वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ ।