खाडी र मलेसिया मात्र होइन यूरोप र जापानको रोजगार बढाउने

news-details

सरकारले खाडी मुलुक र मलेसिया मात्र होइन विकसित देशमा रोजगारीका लागि नेपालीहरु पठाउनका र्गहकार्य गरिरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले नेपालीहरुको लागि निकट भविष्यमै जापान र युरोपका लागि रोजगारीको अवसर श्रृजना गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा गृह जिल्ला सर्लाही पुगेर मन्त्री यादवले विकसित मुलुकमा नेपाली पठाउने र्गहकार्य भइरहेको बताएका हुन् ।

‘विदेशबाट आएको विप्रेशणको अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका जापान सहित युरोपका देशहरुमा समेत रोजगारीको अवसर श्रृजना गर्न पहल भइरहेको जानकारी दिए । ‘नेपालीले खाडी मुलुकमा मात्र परिश्रम बगाउने हैन अब सीप र दक्षता अनुसार जापान तथा युरोपका मुलुकमा समेत काम गर्न पाउनुपर्छ भन्नेमा हामी लागि परेका छौं’, मन्त्री यादवले भने, ‘विकसित मुलुकमा वैदेशिक रोजगारीका अवसर श्रृजना गर्न सकिए मुलुकलाई निकै फाईदा पुग्ने निश्चित छ ।’

वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकमलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग गराउन सके मुलुकको आर्थिक समृद्धिमा निकै टेवा पुग्ने उल्लेख गर्दै मन्त्री यादवले त्यसतर्फ सबै पक्ष, तह र तप्कालाई ध्यान दिन आग्रह गरे ।

त्यस्तै मन्त्री यादवले सीप हाँसिल गर्दै दक्ष बनेर मात्र वैदेशिक रोजगारीमा जान पनि आग्रह गरेका छन् । ‘जुन कामको लागि जाने हो, सोही अनुसारको सीप हाँसिल गर्नुपर्छ’, मन्त्री यादवले भने ।

वैदेशिक रोजगारीमा जानेहरुका लागि निःशुल्क रुपमा सीप सिकाउनका लागि सरकारले ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी गरिरहेको मन्त्री यादवले जानकारी दिए । हाल केन्द्रमा मात्र रहेको निःशुल्क तालिम केन्द्रलाई अब ७ वटै प्रदेशमा विकेन्द्रीकरण गरेर सेवा विस्तार गर्ने योजना मन्त्रालयको रहेको उनले सुनाए ।

कार्यक्रममा बोल्दै प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा वातारण राज्य मन्त्री सुरेश मण्डलले वैदेशिक रोजगारीबाट नेपाल भित्रिएको पैसाले मुलुकलाई निकै टेवा पुगेको बताए । ‘जिविका धान्नै नसक्ने परिवारका सदस्य वैदेशिक रोजगारीमा गएको र आएको पैसाले बालबच्चालाई शिक्षा दिक्षा दिन थालेका छन्’, उनले भने, ‘ती बालबालिका शिक्षित हुँदा पक्कैपनि भावि दिनमा मुलुकलाई निकै फलदायी हुने मेरो विश्वास छ ।’

कार्यक्रममा हेल्भेटास नेपालका कृष्णलाल कर्णले विप्रेषणको उपयोगको विषयमा कार्यपत्र प्रस्तुत गर्दै विदेशबाट आएको रकम पुँजी निर्माणमा न्युन रुपमा खर्चभएको औल्याएका थिए । उनले हेल्भेटासको अध्ययनले ६१ प्रतिशत विदेशबाट फर्किएका युवा कमाएको रकम लगानी गरी उद्यमी बन्न चाहेको वताए ।


कार्यक्रममा सहभागी विदेशबाट फर्किएका कामदार तथा आप्रवासीका परिवारले विदेशबाट आएको विप्रशणको दुरुपयोग आफुहरुले नगरेको बताएका थिए । विदेशको कमाई व्यवसायमा लगाउन नसकेको स्वीकार्दै उनीहरुले जग्गा किनेर सदुपयोग गरेको बताएका थिए । नेपालमै उद्यमशिल बन्न ठुला जोखिम भएपनि आफुहरुले प्रयास गरेको तर राज्यबाट कुनै भरोसा तथा प्रोत्साहन नभएकाले पुनः विदेश फर्कनुपर्ने बाध्यता रहेको विदेशबाट फर्किएकाहरुको भनाई थियो । कार्यक्रममा नेपाल भित्रिने विप्रेषणको १।१ प्रतिशत मात्र उत्पादनशिल क्षेत्रमा खर्च भईरहेको र बाँकी रकम घरघडेरी तथा विलासि प्रयोगमा खर्च भईरहेको उल्लेख गरिएको थियो ।

हेल्भेटास नेपालको आर्थिक एवं प्राविधिक सहयोग रहेको कार्यक्रम सहयोगी समाज नेपाल तथा स्वाबलम्न केन्द्रले संयुक्त रुपमा आयोजना गरेका हुन् । आयोजक संस्थाका हरि थापाले सहजीकरण गरेको कार्यक्रममा दुई नं. प्रदेश भित्रका ८ वटै जिल्लाका वितिय संस्थाका प्रतिनिधि, उद्योगी व्यापारी, वैदेशिक रोजगारीबाट फर्केर अन्य व्यवसाय गरिरहेकाहरु तथा वैदेशिक रोजगारीमा रहिरहेका परिवारको उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *