प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास गरेका छन । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आज आइतबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो सो सुरुङमार्गको शिलान्यास गरेका हुन ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग रहने सो आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो ।