कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर अर्बौ लुटने योजनाकार पक्राउ

news-details

काठमाडौँ दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ निकालिएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ ।

एक विदेशी ह्याकरले कृषि विकास बैंकको सफ्वेयर ह्याक गरी नेपाली नागरिकलाई प्रयोग गरेर पैसा निकालेको खुलेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार पैसा निकाल्ने कार्यमा संलग्न रहेका १२ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

एउटा रेमिट कम्पनीका कर्मचारीको सानो सूचनाका कारण ठूलो रकम विदेश लैजाने ह्याकरको योजना विफल भएको प्रहरीले जनाएको छ । “ह्याकरले रु पाँच अर्ब निकाल्ने योजना बनाएका थिए, झण्डै रु ७० लाख निकालेको पाइयो, ६० लाख बरामद गरेका छौँ भने रु १० लाख हुण्डीमार्फत भारत लगिसकेको खुल्न आएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक थापाले राससलाई भने ।

उक्त घटनाका मुख्य योजनाकार विदेशी नागरिक ‘काले’ भन्ने पिटर हुन् । उनी लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका थिए । उनको योजना नेपालबाट रु पाँच अर्ब लैजाने रहेको खुल्न आएको छ । उसले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका थिए ।

महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पैसा निकाल्दै गर्दा विभिन्न क्षेत्रबाट १२ जनालाई पक्राउ गर्न सफल भएको छ । ह्याकरको समूह तथा सहयोगीहरुले बैंकमार्फत रु चार करोड ७३ लाख रकम भने विभिन्न व्यक्तिको नाममा सारिसकेको पाइए पनि सही समयमा प्राप्त सूचना र प्रहरीको तत्कालको अनुसन्धानले उक्त रकम निकाल्नबाट जोगिएको छ ।

यसरी भएको थियो घटना

घटना यही असोज ५ गते आइतबारको हो । बानेश्वरमा रहेको पानस रेमिटबाट केही व्यक्तिहरुले अस्वाभाविक रुपमा पैसा निकालेपछि गतिविधि शङ्कास्पद लागेर कर्मचारीले महानगरीय अपराध महाशाखामा जानकारी गराए । त्यसपछि खटिएको महाशाखाको टोलीले पैसा निकाल्दै गर्दा केही व्यक्तिलाई पक्राउ ग¥यो । उनीहरुसँग सोधपुछ गर्दा नुवाकोटका लवाङ तामाङ घटनामा संलग्न रहेको खुल्न आयो । खोजतलासका क्रममा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि थप रहस्य खुल्न पुग्यो । उनको साथबाट प्रहरीले रु ३१ लाख बरामद गरेपछि घटनाले अर्कै मोड लियो ।

कृषि विकास बैंकको रकम निकालेको पत्ता लागेपछि प्रहरीले जिल्लामा सर्कुलर गरेर प्रहरीलाई ‘हाई अलर्ट’मा बस्न भनियो । प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने, “लवाङसँगको सोधपुछमा विदेशी नागरिक काले भन्ने पिटरसँग उनको सम्बन्ध रहेको जानकारी प्राप्त भएपछि घटनामा ठूलै गिरोह रहेको रहस्य पत्ता लाग्यो र हामीले अनुसन्धानलाई थप तीव्रता दियौँ ।” उनका अनुसार कृषि विकास बैंकमा बुझ्दा करोडौँ रकम विभिन्न व्यक्तिको खातामा पठाई सकिएको फेला प¥यो । त्यो खाताको पैसा लिन आउने सबैलाई नियन्त्रणमा लिन भन्दै बैंकमा सर्कुलर भयो । सोही क्रममा प्रहरीले १२ जना पक्राउ गरेको थापाले जानकारी दिए ।

नेपाली नागरिकलाई खातामा जम्मा भएको रकमको १५ देखि ३५ प्रतिशतसम्म दिने र अरू रकम हुण्डीमार्फत भारत पठाउने सर्तमा व्यक्तिको नाममा ह्याकरले पैसा पठाएको खुल्न आएको उनले जानकारी दिए । सोही प्रक्रिया चल्दै गर्दा प्रहरीले उनीहरुलाई पैसा निकाल्नुअघि नै पक्राउ गरेको थियो । “तर पनि ७० लाख भने निकालेको र रु १० लाख भने हुण्डीमार्फत विदेश पठाइसकेको फेला परेको छ अरू पैसा बरामद भएको छ”, महाशाखा प्रमुख थापाले भने ।

उक्त घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौँ तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, झक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका योजनाकार विदेशी नागरिक पिटर भने फरार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट रकम रु चार करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ । यसरी पैसा निकाल्ने नेपाली सहयोगीलाई १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डीमार्फत पुनः भारत भारत लैजाने गरेको समेत खुल्न आएको छ । पिटरले नेपालका एजेन्टहरूलाई नबिल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई पैसा निकाल्ने गरेको र उनले नेपालबाट रु पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *