प्रधानमन्त्री ओली स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता

news-details

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्कनु भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्कनु भएको हो ।

त्यस अवसरमा उहाँलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली गएको साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको थियो । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनु भएको हो ।

उहाँले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने कुरा गर्न चाहनु भएन । विदेश भ्रमणबाट फर्कँदा पत्रकार सम्मेलन गर्ने गरेका प्रधानमन्त्री ओलीले यस पटक भने पत्रकार सम्मेलन नगरी बाहिरिनु भयो । स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर जानु भएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिपोर्ट प्राप्त भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *