भिजिट भिसामा कडाई गर्दै सरकार, अध्यागमन अधिकृत नै पक्राउ

news-details

पर्यटन भिसा (भिजिट भिसा)मा पठाएर रेकर्ड उडाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई नियन्त्रणमा लिएको छ । केही दिन पहिले मात्रै अध्यागमन विभाग डिल्लीबजारले अनुसन्धानका निम्ति केन्द्रीय कार्यालयमा तानेको पराजुलीलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो ।

अख्तियारले पराजुलीमाथि बिचौलियाको साँठगाँठमा श्रम स्वीकृती बिना नेपाली युवा युवतीलाई कतार र दुबई लगायतका देशमा भिजिट भिसामा जान अनुमति दिएको आरोप लागेको छ ।

विचौलियाहरुले प्रक्रिया छिटो टुंगिने र आम्दानी राम्रो हुने भन्दै प्रलोभनमा फसाएका युवा युवतीहरुलाई पराजुली सहितको टोलीले अध्यागमनबाट सजिलै प्रस्थान गर्न दिएको पाइएको श्रोतले बतायो । ६० हजार रुपैयाँभन्दा बढी मासिक तलबको प्रलोभनमा हजारौं नेपाली भिजिट भिसामा युएई जाने गरेका छन् । भिजिट भिसामा गएर आकर्षक तलव पाउने आशमा उनीहरुले ३ देखि ५ लाख रुपैयाँसम्म एजेन्टलाई बुझाउने गरेको बताइन्छ ।

आकर्षक प्रलोभन देखाई युवाहरुलाई नेपालबाट उडाएपछि सम्पर्कबिहीन हुने एजेन्टहरुको कारण रोजगारी नपाएर अलपत्र पर्ने युवा युवतीहरु नेपाली दूतावास र त्यहाँ कार्यरत नेपाली संघ सस्थाहरुका लागि टाउको दुखाईको विषय बन्ने गरेको छ ।

भिजिट भिसामा गएका युवा रोजगारदाताको ढोका ढोका पुगेपछि विशेषगरी कतार र यूएईका रोजगारदाताहरुलाई कामदार खोज्न नेपालसम्म आईपुग्ने वाध्यता हट्दै गएको बताइन्छ ।

भिजिट भिसामा विदेश कामदार पठाउने क्रम तिव्र बनेपछि विगतमा ट्राभल एजेन्सी समेतलाई कारबाही गर्न तत्कालीन श्रम तथा रोजगार मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरे पनि भिजिट भिसामा जानेक्रम कम नभएको अनुभव छ ।

ट्राभल एजेन्सीबाट कामदार पठाउने कार्य गैरकानुनी भएको र मानव तस्करीभित्र पर्ने भन्दै यसको छानबिन गृह मन्त्रालयबाट कडाईका साथ अनुसन्धान र कारवाही हुनुपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाई छ ।

भिजिट भिसाको धन्दामा एजेन्ट सहित केही गैर आवासीय नेपालीका अगुवा तथा म्यानपावर कम्पनीको पनि संलग्नता रहेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाई छ ।

पछिल्ला दिनमा वैदेशिक रोजगार विभागले भिजिट भिसामा गई समस्यामा पर्नेहरुलाई रोक्न मानव बेचबिखन रोकथाम ब्युरो, अध्यागमन विभाग, मानव अधिकार आयोग लगायतसँग समन्वय गरेर काम काम गर्ने तयारी गरेको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *