सरकारले विभिन्न ४ मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।
अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्र राजदूतमा सिफारिस भएका छन ।
कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई राम्रो काम गर्दागर्दै सरकारले राजनैतिक आस्थाकै आधारमा फिर्ता बोलाएपछि उक्त दुतावास राजदूतविहिन बनेको थियो भने अपुष्ट आरोपका कारण अष्ट्रेलियाकी राजदूत लक्की शेर्पाले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । शेर्पाले राजिनामा दिएपनि आफु निर्दोष रहेको दावी गर्दै सरकार तथा परराष्ट्र मन्त्रालयलाई यसबारे छानविन गर्न आग्रह गरिहदा पनि सरकार भने मौन नै बसिरहेको छ ।
यसअघि सरकारले राजदूत नियुक्तिमा नयाँ मापदण्ड लागू गरेपनि अन्तत : चारैजना राजदूत राजनैतिक आस्थाका आधारमा शिफारिस भएका छन । शिफारिस सबै नेकपा समर्थित हुन । यस पटक पनि परराष्ट्र सेवाबाट भने कोही शिफारिसमा पर्न सकेनन ।
प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ भने कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य हुन । यस्तै स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी एवं हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् । बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् ।







