विपन्न परिवारलाई ‘कतार च्यारिटी’ले खाद्यान्न सामग्री वितरण गर्‍यो

news-details

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर कतार च्यारिटीले कतार एयरवेजसँगको सहकार्यमा काठमाडौंका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

‘रमजान फूड प्याकेट डिस्ट्रीब्यूशन’ कार्यक्रम अन्तर्गत गरिब, विधुवा, अनाथ, असहाय पीड़ित घरपरिवारलाई प्राथमिकता दिएर प्रति परिवार २५ केजी चामल, ५ केजी पिठो, ३ केजी चना, ३ केजी चीनी, ५ लीटर तेल र १ केजी नुनसहितको खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केहि आवश्यकता भएपनि पुरा हुने बताए । ‘दशैं–तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ–आफ्ना आवश्यकता हुने र ति आवश्यकता पुरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी हो’ शेखले भने ।

अरब देशको सबैभन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्रमार्फत उक्त सहयोग गरेको शेखले बताए । कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो ।

कतार च्यारिटीले बिगत दुई बर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, बिद्यालयहरुमा चर्पी लगायतका आवश्यक पूर्वधार निर्माण, कम्जोर आर्थिक अवस्था भएकालाई बिभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ ।

च्यारिटीले केहि महिनाअघि मात्रै मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्नलाई काठमाडौका बिपन्न परिवारहरुलाई पसल खोलिदिएको थियो ।

च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किराना पसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निःशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरेको छ ।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो । त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । यो संस्थाले स्थापनाकालदेखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । दुई बर्षअघि मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *