नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीको भियतनमको औपचारिक भ्रमणका क्रममा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
विज्ञप्तिमा दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनता जनताबीच सम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने आवश्यकतालाई विचार गरी सोको तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने सहमति भएको उल्लेख छ ।
साथै भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र विशेष गरी भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उदगमस्थल लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका र भियतनामी प्रधानमन्त्री न्युग्यनले त्यसलाई सहर्ष स्वीकार गरेको उल्लेख छ ।
दुवै देशबीच १६ बुँदे सहमति
भियतनामका समकक्षीसँग भेटवार्तापछि दुई देशका अधिकारीबीच १६ बुँदे सहमति भएको छ । जस अन्तर्गत दुई देशका अधिकारीबीच नेपाल र भियतनामका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई एकअर्को देश भ्रमणका लागि भिसा नचाहिने सहमतिमा हस्ताक्षर भएको हो ।
व्यापार तथा लगानी सम्बन्धी सम्झौताको लागि पहल गर्न भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति पत्रमा समेत सहसमति भएको छ ।
नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने, पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउ, विदेशमन्त्री स्तरीय दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्नेलगायतका विषयमा सहमति भएको छ ।
त्यस्तै सन् २०२० र २०२१ सम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने लक्ष्य लिएको बताउँदै भियतनामका प्रधानमन्त्री फुकले नेपालको साथको अपेक्षा राखेको बताएका छन् । प्रधानमन्त्री ओलीले सहयोगको वचन दिँदै उचित समयमा नेपाल भ्रमणका लागि निम्तो दिएका छन । भियतनामले नेपालले मनाउँन लागेको पर्यटन वर्षा २०२०को सफलताको कामना गर्दै त्यसमा आफ्नो सहयोग रहने प्रतिवद्दता राखेको छ ।








