प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजबाट मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु हुँदैछ ।
सबै जिल्ला, क्षेत्र, गाउँ-नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ ।
तीन चरणमा हुने अभियानको प्रथम चरण आजबाट सुरु भएर जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने छ ।
अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने उद्देश्य लिएको छ ।
यसैबीच कार्यक्रम उद्घाटन पनि कांग्रेसले नयाँ तरिकाले गर्दैछ । समी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरेको छ ।
त्यस्तै, जागरण अभियानमा बजाउन जागरण गीत तयार पारिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको गीत नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा तयार पारिएको हो ।








