प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद् प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रमको विषयमा छलफल सकिएपछि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा चढेका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विषयलाई लिएर प्रमुख प्रतिपक्षि दल कांग्रेसले उठेर नाराबाजी गरेको थियो ।

छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍नको वास्ता नगरेर जवाफ दिने बताएपछि उनको यो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको हो ।

नीति तथा कार्यक्रम माथि सांसद प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो, चन्दा चौधरीलगायतले संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर नाराबाजिकैबीचमा सभामुख कृष्णबहादुर महराले उक्त संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेकोमा बहुमतले उक्त प्रस्ताव खारेज गर्दै नीति तथा कार्यक्रम पारित भएको हो ।

सरकारको नीति तथा कार्यक्रम गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा पेश गरेकी थिइन् ।

अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारिएको थियो । यसपटक पनि अघिल्लो वर्षजस्तै सर्वसम्मत गराउन प्रधानमन्त्री ओलीले आह्वान गरेपनि प्रमुख प्रतिपक्षी काँग्रेसले विपक्षमा मतदान गरेको हो ।

संसदको अर्को बैठक आउँदो २७ गते शुक्रबार बिहान ११ बजे बस्नेगरी त्यतिन्जेलसम्मका लागि स्थगित गरिएको छ ।