काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । मृतकको नाम भने खुलाइएको छैन । मानिसमा पनि बर्ड फ्लू भेटिएको यो नेपालमा पहिलो पटक हो ।
गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको जनाउँदै मन्त्रालयले उनको निधन बर्डफ्लुबाटै भएको पुष्टि भएको बताएको छ ।








