एसियन क्रिकेट सिक्सेस टुर र देविबास इभेन्ट्स एण्ड मिडियाले पर्यटकीय नगरी पोखरामा नेपाल इन्टरनेशनल क्रिकेट सेभेन्सको आयोजना गर्ने भएका छन् ।

आउँदो असोज ३ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगितामा दुई दर्जन बिदेशी टोलीहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

सहभागी टोलीहरुले लिग कम नकआउटका आधारमा ५ ओभरको खेल खेल्नेछन् । प्रतियोगिताबाट उठेका सम्पूर्ण रकम परोपकारी संस्थाहरुलाई हस्तान्तरण गरिनेछ ।
प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टोलीले कम्तिमा एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ । यसबाहेक कोष खडा गर्नका लागि हरेक खेलमा डक आउट, गोल्डेन डक आउट र डक आउट भएपछि पहिरिनुपर्ने डक मेडल नलगाउने खेलाडीले जरिवाना तिर्नेछन् भने अक्सनका लागि बिभिन्न क्रिकेट सम्बन्धि सामग्रीहरु पनि राखिनेछ ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुँदै

‘हामीले लामो समयदेखि यो प्रतियोगिता सञ्चालन गर्दै आइरहेका छौं । पोखरा नेपालकै सबैभन्दा सुन्दर पर्यटकिय शहर रहेको कारणले यहा गर्ने जमर्को गरेका हौ । गत बर्ष थाइल्याण्डमा यो प्रतियोगिता गरिरँहदा हामी देविबासको सम्पर्कमा आएका थियौं । वहाहरुले प्रतियोगिता आयोजना गर्ने रुचि देखाएपछि यहाँ गर्न तयार भएका हौ’ एसियन क्रिकेट सिक्सेस टुरका अध्यक्ष माइकल माहेरले जानकारी दिए ।

माहेरका अनुसार प्रतियोगिता आयोजनका गर्नका लागि निकै ठूलो रकमको आवश्यकता हुने र प्रायोजकहरुको टुँगो लागिसकेपछि टिमसँग दर्ता शुल्क निर्धारण गर्ने जानकारी दिए । नेपालमा हुन गइरहेको ५३ औं संस्करणसम्म आइपुग्दा टुरले थाइल्याण्ड, मकाउ, फिलिपिन्स, अष्ट्रेलिया, सिंगापुरमा यो प्रतियोगिता आयोजना गरिसकेको छ ।

नेपाल पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले पनि साथ दिएको छ । देविबासका प्रबन्ध निर्देशक देवेन्द्र आचार्यले प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा राखे । ‘हामीले यसअघि पनि अण्डर १६ स्कुल क्रिकेट र मारवाडी प्रिमियर लिगको आयोजना गरिसकेका छौं । यो प्रतियोगिता नेपालमा गराउन हामीले लामो समयदेखि कसरत गरिरहेका थियौ । पोखरामा हुने क्रिकेट सेभेन्स निकै नै रोमाञ्चक हुनेमा हामी आशावादी छौं’ आचार्यले बताए ।