सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

सरकारले आवश्यकता महसुसस गरी राजदूत कोइरालालाई फिर्ता बोलाएको मन्त्री बाँस्कोटाले बताए । राजदूत कोइरालालाई शुरुमा नै अनावश्यक विवादमा तान्न खोजिएको भएपनि आफ्नो कार्यकालमा सबैको मन जित्न सफल भएका थिए । विशेषगरी नेपाली श्रमिकहरुका पक्षमा काम गरेका कोइराला कतारमा रहेका नेपालीको मनमा बस्न सफल भएका छन् ।

कोइराला वैदेशिक रोजगार विज्ञका रुपमा चिनिन्छन् । तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको सल्लाहकार भएर काम गरेका कोइरालाको कामकारवाही प्रति कतारमा बस्ने नेपाली भने सन्तुष्ट छन् । यद्यपी सरकारले चाहेको बेला जसलाई पनि फिर्ता बोलाउन सक्छ ।  कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएको थियो ।