राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेकी छिन् ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बुधबार विहान ११ बजे भण्डारी त्यसतर्फ गएकी हुन् । राष्ट्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्ने तयारी गरेको छ । अघिल्ला राष्ट्रपति डा रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन् ।
अप्रिल २६ र २७ मा हुने बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ । राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटन सत्रमा विशेष सम्बोधन गर्नेछिन् । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
चिनिया राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । सान्सी प्रान्तको राजधानी सियान हुँदै जाने राष्ट्रपतिले फर्कंदा ल्हासाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन् । युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन् ।








