युरोपेली मुलुक चेक गणतन्त्रको भिषाको आवेदन अब नेपालबाटै दिन पाइने भएको छ । यसका लागि यसअघि भारतको राजधानी नयाँदिल्ली जानुपर्ने बाध्यता थियो ।

विभिन्न मुलुकको लागि भिषा आवेदनमा सहजीकरण गर्दै आएको भिएफएस ग्लोबलले युरोपेली मुलुक चेक गणतन्त्रको भिषा आवेदन सेवा काठमाडौंमा सुरू गरेसँगै भिषाकै लागि दिल्ली जानुपर्ने झन्झटको अन्त्य भएको हो ।

उक्त सेवाको गत शुक्रबार भारतका लागि चेक गणतन्त्रका राजदुत मिलान होभोराका तथा चेक रिपब्लिकका सम्मानार्थ कन्सोल विष्णु अग्रवालले उदघाटन गरेका हुन ।

चेक गणतन्त्र जान चाहने नेपालीहरूको आवेदन गत वर्ष २६ प्रतिशतले बढेको उल्लेख गर्दै नेपालीहरूका लागि सहज र भरपर्दो सेवाका लागि उक्त सेवा सुरू गरेको उसले जनाएको छ ।

उद्घाटनपछि बोल्दै राजदूत मिलान होभोरा यस निर्णयले नेपाली आवेदनगर्तालाई थप सहज बनाउने बताए । त्यस्तै कन्सोल अग्रवालले चेकको भिषा सेवालाई काठमाडौं ल्याउन पाउँदा आफूलाई खुशी लागेको बताए ।

चेक गणतन्त्र जोडिएसँगै भिएफएसले भिषा आवेदन सेवा उपलब्ध गराउने मुलुकको संख्या २० पुगेको छ ।