आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै सरकारी चिकित्सकहरूले आज (शुक्रबार)देखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बहिष्कार गरेका छन् ।

सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

देशभरका सरकारी चिकित्सकले आजदेखि अनिश्चिकालसम्मका लागि आकस्मिकबोहक सबै सेवा बन्द गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । तर हावाहुरीले क्षति पुर्याएका बारा र पर्सा जिल्लामा सरकारी चिकित्सकले आफ्नो नियमित सेवा नरोक्ने पनि उनले जानकारी दिए ।

गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ ।

यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने निर्णय संघले गरेको छ । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् ।