भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदै छन् । सचिव गोख्ले नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका पक्षमा विचारविमर्श गर्न नेपाल आउन लागेको परराष्ट्र मन्त्रलायले जनाएको छ ।

नेपालमा रहँदा सचिव गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ । झण्डै १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।

भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ ।

दुई सचिवको नेतृत्वमा आजै द्विपक्षीय वार्ता हुनेछ । सचिव गोख्लेसहित सहसचिव सुधाकर दलेला पनि काठमाडौं आउँदैछन् ।