वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गरिरहेका अधिकांश स्वास्थ्य संस्थालाई आगामी एक बर्षका लागि काम गर्न पाउने गरी नविकरण गरिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विदेशिने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको नयाँ सूचिकरण आब्हान गरेर अन्योलता बढाएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै सूचिकृत हुन इच्छुक संस्थाहरुलाई १० दिन भित्र दर्ता आब्हान गरेको छ । तर, केही दिन अगाडि मात्र मन्त्रालयले अधिकांश स्वास्थ्य संस्थाको नविकरण गरिसकेको छ । अहिले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन २२६ वटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् ।

मन्त्रालयले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने ३८ स्वास्थ्य संस्थाको पनि नविकरण गरिसकेको छ । मलेसिया रोजगारी बन्द भएपछि मलेसियाबाट नयाँ स्वास्थ्य परीक्षणको मापदण्ड आएको भनिएता पनि मन्त्रालयले प्रकाशन गरेको सूचनामा कुनै देश उल्लेख गरिएको छैन ।

‘हिजो मात्र मन्त्रालयबाट नबिकरण गरेको पत्र लिएर आएको थिए, आज फेरी सूचिकृतको सुचना देख्दा अन्यौलमा परियो’ एक स्वास्थ्य परीक्षण संस्थाका संचालकले बताए ।

मन्त्रालयले विस. २०६९ देखि नयाँ संस्था दर्ता र सूचिकरण हुन नसक्दा यो क्षेत्रमा सिण्डिकेट खडा भएको तथा अब्यवस्थित बन्दै गएको भन्दै नयाँ सूचिकरणका लागि आवेदन माग गरेको दावी गरेको छ । सूचिकरणका लागि आवेदन दिनेहरुबाट मापदण्ड पुरा गर्ने सबै स्वास्थ्य संस्था, अस्पतालहरु छनोट हुने र यसबाट विकृति तथा सिण्डिकेटको अन्त्य हुने मन्त्रालयको भनाई छ ।

तर, गाम्का नेपालले खाडीका देशमा एकलौटी स्वास्थ्य परीक्षण गरिरहेको विषयमा सरकार मौन छ । दक्षिण कोरिया, इजरायल जाने कामदारको गरिने स्वास्थ्य परीक्षणमा पनि मन्त्रालयले पहिला नै निर्णय गरिसकेको छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छान्नका लागि मन्त्रालयले सूचना निकालेको भएता पनि मलेसिया सरकारले बायोमेडिकल सिस्टमबाट नै नेपाललगायत १५ देशमा स्वास्थ्य परीक्षण हुने जानकारीसहित मार्च १५ गते पुनः परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । मलेसियाको पत्रको आधारले पनि सरकारले मलेसियाका लागि नयाँ स्वास्थ्य संस्था छनौटको सूचना निकालेर प्रकृया मात्र पुरा गरेको स्पष्ट हुन्छ ।

यद्यपी मलेसिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार अब सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण हुने सरकारको भनाई छ । सार्वजनिक सूचना जारी गरेर मापदण्ड अनुसार खुल्ला प्रतिष्पर्धाद्धारा स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट गर्दा सिन्डिकेटको अन्त्य हुने सरकारको दाबी छ ।