काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चक्रपथको भित्री सडकमा ब्रुमर चलाएर सडक सफा गर्ने भएको छ । टुँडिखेल र रत्नपार्क आसपासमा सफा गरेर उदघाटन गर्ने काठमाडौं महागरपालिकाले जनाएको छ ।
पाँचवटा ब्रुमरको उदघाटन एकैसाथ मेयर विद्यासुन्दर शाक्यले गर्न लागेका हुन् । एकसाता अघि इटालियन ब्रुमर काठमाडौं ल्याइएको थियो । साढे दश करोड खर्च गरेर ब्रुमर ल्याएको महानगरले जनाएको छ ।
काठमाडौं उपत्यकाका कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, टुँडीखेल, लैनचौर, लाजिम्पाट, महारजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वरलगायतका क्षेत्रमा ब्रुमरको प्रयोग गरि सफा गरिने महानगरपालिका वातावरण विभाग महाशाखा प्रमुख हरिकृष्ण श्रेष्ठले बताए ।
यी ब्रुमरहरु नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । पुरानो ब्रुमर बिग्रेर टेकुमा राखिएको छ । यसमा दुईवटा ट्याङ्की छन् । धुलो टिपेपछि पानी छर्केर सडकलाई भिजाउन मिल्छ ।
नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहितको धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।








