जनताको जलविद्युत् : पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’को चैत ७ मा जारी हुने

news-details

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो ।

सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो ।

सोही आधारमा कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

‘बिहीबार खुला गर्ने शेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ’, आयोजना प्रमुख ढुङ्गेलले भन्नुभयो, ‘एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य रु १०० अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने रु १० मात्र तोकिएको छ ।’

जनताको जलविद्युत् कार्यक्रमका लागि तय गरिएको प्रावधान अनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वपूँजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा त्यसमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग शेयर आह्वान गर्ने व्यवस्था भए पनि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी पूरा गरेको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो ।

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ । जसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि (शेयरधनी सम्झौता भएको बखत विसं २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी) पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ ।

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *